घुसेल मा.वि.को पुनःनिर्माणपश्चात् विद्यालय व्यवस्थापनलाई हस्तान्तरण

रमा घिमिरे/ समाज – May 24, 2016

 

ललितपुर, जेठ ११
‘शान्ति शिक्षा अभियान नेपाल’ले भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत ललितपुरको घुसेलमा अवस्थित घुसेल माध्यमिक विद्यालयको पुनःनिर्माण गरी मिति २०७३ जेठ ७ गते शुक्रबार एक कार्यक्रमका बीच सांसद् उदय शमशेर राणाकोे प्रमुख आतिथ्यतामा नवनिर्मित दुई कोठे पक्कि भवन उद्घाटन गर्दै उक्त विद्यालय हस्तान्तरण गर्नुका साथै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्देश्यअनुरूप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाडौं आसपासका जिल्लाहरूमा शैक्षिक गुणस्तर सुधार परियोजनाअन्तर्गत विद्यालय भवन निर्माण तथा मर्मत सम्भार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरूमा झ्याल ढोकाहरूको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ ।

भूकम्पले पुर्याएको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै सो संस्थाले विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रम २०७२/०७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाडौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कूल दुई करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुनःनिर्माण गर्ने जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका भूपू अध्यक्ष ज्ञानबहादुर लोले गत वर्षको भूकम्पले विद्यालयको लगभग सबै भवनहरू क्षतिग्रस्त बनाएकोले विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएको अवस्थामा विभिन्न संघसंस्थाहरूबाट गरेको सहयोगको सराहनीय गर्दै धन्यबाद ज्ञापन दिएका छन् ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अभियानका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कूल लागत रकम १३,२२,९८० खर्चको प्रतिवेदन पेश गरकी थिइन् । यसैगरी अभियानका अध्यक्ष रबिन्द्र महर्जनले भूकम्पपछि विद्यालयको भवन क्षतिग्रस्त भई विद्यार्थीहरूलाई असहज वातावरणमा पठन पाठन गराइरहेको अवस्थामा शान्ति स्कूल प्रोजेक्ट, अमेरिकाको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रम २०७२/०७३ अन्तर्गत पुनःनिर्माण गरी पठन पाठन कार्यमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उदय शमशेर राणाले भूकम्पले क्षतिग्रस्त भवन पुनःनिर्माण गरी विद्यालयका बालबालिकाहरूलाई पठन पाठन गर्न उपर्युक्त कक्षा कोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकालाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरेका थिए ।

Info Nepal