भूकम्पले क्षतिग्रस्त विद्याधिश्वरी उ.मा.वि.पुनःनिर्माणपश्चात् विद्यालय व्यवस्थापनलाई हस्तान्तरण

इन्फोनेपाल संवाददाता/ समाज –

ललितपुर, जेठ १६
‘शान्ति शिक्षा अभियान नेपाल’ले भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत ललितपुरको आश्राङमा अवस्थित विद्याधिश्वरी उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गरी मिति २०७३ जेठ १४ गते एक कार्यक्रमका बीच सांसद् उदय शमशेर राणाकोे प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गर्दै उक्त विद्यालयलाई हस्तान्तरण गर्नुका साथै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

भूकम्पले पुर्याएको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै संस्थाले विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रम २०७२र०७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाडौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कूल दुई करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुनःनिर्माण गर्ने जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रअ थल प्रसाद तिमल्सिनाले गत वर्षको भूकम्पले विद्यालयको लगभग सबै भवनहरू क्षतिग्रस्त बनाउँदा कक्षा कोठाको अभाव हुनु र विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले भुइँतलामा २ कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई राहत दिलाएकोमा संस्थालाई धन्यवाद ज्ञापन दिएका छन् ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अभियानका कार्यक्रम संयोजक सीता न्यौपानेले भवन निर्माणमा लागेको कूल लागत रकम ७,७६,५५६ खर्चको प्रतिवेदन पेश गरकी थिइन् । यसैगरी अभियानका अध्यक्ष रबिन्द्र महर्जनले भूकम्पपछि विद्यालयको भवन क्षतिग्रस्त भई विद्यार्थीहरूलाई असहज वातावरणमा पठन पाठन गराइरहेको अवस्थामा शान्ति स्कूल प्रोजेक्ट, अमेरिकाको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण तथा मर्मत कार्यक्रम २०७२र०७३ अन्तर्गत पुनःनिर्माण गरी पठन पाठन कार्यमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि रामकृष्ण चित्रकारले शिक्षा र देश विकासमा विज्ञानको महत्व झल्काउँदै विद्यालयलाई विज्ञान प्रयोगशालाको निम्ति दुई लाख सहयोग गरेको समेत जानकारी सो कार्यक्रममा गराएका थिए । उक्त सहयोग गरेकोमा उनलाई कार्यक्रमका प्रमुख अतिथि उदयशमशेर राणले विद्यालयलाई अतुलनीय सहयोग गरकोमा प्रमाण पत्र दिई सम्मान समेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उदय शमशेर राणाले भूकम्पले क्षतिग्रस्त भवन पुनःनिर्माण गरी विद्यालयका बालबालिकाहरूलाई पठन पाठन गर्न उपर्युक्त कक्षा कोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकालाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरेका थिए ।