विद्यालय भवन हस्तान्तरण

ललितपुर– भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। ललितपुर, महालक्ष्मी नगरपालिकाअन्तर्गत लामाटारस्थित कालीदेवी माध्यमिक विद्यालयको तीनकोठे भवन सांसद गगन थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र विष्टलाई हस्तान्तरण गरे।

उक्त भवन शान्ति शिक्षा अभियान नेपालले निर्माण गरिदिएको हो। अभियानले भूकम्पले कक्षाकोठाविहीन भएका दोलखाका ५, काभ्रेका ४, काठमाडौंका ३ र ललितपुरका १० विद्यालय भवन मर्मत तथा पुनर्निर्माण गरिरहेको छ । सांसद थापाले बालबालिकालाई उपयुक्त कक्षाकोठा निर्माणमा जुटेको अभियानको सराहना गरे । अर्का सांसद चन्द्र महर्जनले यस्ता कार्यक्रमममा आफूले निरन्तर सहयोग गर्ने जनाए । अध्यक्ष रविन्द्र महर्जनले सामुदायिक विद्यालयको स्तर र विकासमा कार्य गर्दै आएको अभियानले भूकम्पपछि भौतिक सहयोग जुटाउने अभियान चलाएको जानकारी दिए । कार्यक्रममा अभियानकी कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माण लागत सार्वजनिक परीक्षण प्रतिवेदन पेस गरेकी थिइन् ।